मदनकृष्ण र मोनालीसाको अग्रता

Manoj Shiama
27 December, 2016 9:50 pm

 

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् । खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलालाई पराजित गर्दै मदनले अग्रता बनाएका हुन् । मंगलबार सम्पन्न छैटौं चरणको खेलमा भुपेन्द्रमाथिको संघर्षपूर्ण जितबाट प्रेरित मदनले सातौं चरणमा नेपाल आर्मीका हिमाल लामासँग बराबरी खेले । सात चरणको समाप्तिमा उनको ६ अंक भएको छ ।
त्यसैगरी महिलातर्फको खेलमा नेपाल आर्मीका मोनालिसा खम्बुले छैटौं चरण एपिएफ क्लबकी शान्ता थापा र सातौ चरणमा पूर्वाञ्चलकी कृपा अधिकारीलाई हराउँदै ६ दशमलब ५ अंकका साथ अग्रता कायम गरिन ।
नेपाल आर्मीका हिमाल लामा र मध्यमाञ्चलका क्यान्डिडेट मास्टर रिजेन्द्र राजभण्डारी समान ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । नेपाल आर्मीका भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्षितीज भण्डारी तथा नवीन तण्डुकार तथा पूर्वाञ्चलका प्रकाश नेपाल समान पाँच–पाँच अंकमा रहेका छन् ।
त्यसैगरी एपिएफ क्लबका सुमित पन्त तथा मध्यमाञ्चलका आशिष फुँयालको समान ४ दशमलब ५ अंक रहेको छ । नेपाल आर्मीका केशव श्रेष्ठ, पूर्वाञ्चलका सुमन श्रेष्ठ, मध्यमाञ्चलका सुरज पण्डित, संजय महर्जन तथा कमल श्रेष्ठ, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा सुदुरपश्चिमाञ्चलका मोहन प्रसाद भट्ट समान चार–चार अंकमा रहेका छन् ।
महिलातर्फ नेपाल आर्मी क्लबकी सिन्दीरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । सिन्दिराले छैटौं चरणको खेलमा मध्यमाञ्चलककी पूर्णिमा जयसवाललाई हराईन भने सातौ चरणमा नेपाल आर्मीकै वुमन क्यान्डिडेट मास्टर सुरुची थिङसँग बराबरी खेलिन । पश्चिमाञ्चलकी अञ्जु शर्मा तथा पूर्वाञ्चलकी खुस्बु थापालाई हराउँदै नेपाल आर्मीका वुमन फिडेमास्टर सुजना लोहनीले ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् ।
एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीकी सुरुची थिङ, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, बिना जयसवाल तथा सविना श्रेष्ठ समान ४ दशमलब ५ अंकमा रहेका छन् ।