संगीतासंग अनुराधाको हार

Manoj Shiama
29 December, 2016 8:25 pm


सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढी स्थित मेची रंगशालामा सञ्चालन भएको बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।
बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम रावल, दिपेश लामा, सिलु डंगोल, श्याम खड्काले स्वर्ण जिते । वेल्टर ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले एपीएफका विकास लामालाई युरोनोमसका आधारमा पराजित गरे भने लाइट वेल्टर महिला ६०–६४ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितिन् ।
त्यसैगरी पुरुषको मिडलवेट ७६ केजी तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका दिवसलाल भूमिलाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै आर्मीका दिपेश लामाले स्वर्ण जिते । पुरुषकै हेभीवेट ९१केजी तौल समूहमा आर्मीका श्याम खड्काले मध्यमाञ्चलका कविरस शर्मालाई वाकओभरका आधारमा पराजित गरे । दायाँ हात इन्जुरी भएपछि कविरसले खेल त्यागेका थिए । महिला मिडलवेट ६९–७५ केजी तौल समूहमा आर्मीकी सिलु डंगोलले मध्यमाञ्चलकी समुना खातुनलाई टेक्निकल नकआउटका आधारमा पराजित गरिन् ।
पुरुष सुपरवेट ९१ क्ेजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले मध्यमाञ्चलका मेघ डेनियल लामालाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै स्वर्ण जिते । बिहीबार ३ स्वर्ण जितेको सशस्त्र प्रहरीको एपीएफ क्लव कुल ४ स्वर्णसहित दोस्रो भएको छ । महिलाको वेल्टरवेट ६४–६९ केजी तौल समूहमा एपीएफकी संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई अंकका आधारमा पराजित गरिन् । बुधबार एक स्वर्ण जितेको मध्यमाञ्चल विकास क्षेत्रले बिहीबार पनि एक स्वर्ण थप्यो । पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेतले आर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गरे ।पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाली,मन्त्रालयका सचिव महेश दाहाल,सहसचिव चुडामणि पौडेल,संघका अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुन केसी र उपाध्यक्ष एवम् ओलम्पियन नरेन्द्र पुमा लगायतले पुरस्कृत गरे ।