ढोरपाटन भलिबलको तयारी पूरा
ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहिवार पत्रकार सम्मेलनमा जनाएको छ । नेपाल भलिबल संघका सचिव एवम् आयोजक ढोरपाटन क्लबका अध्यक्ष तथा मनवीर छन्त्यालले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । सोही अबसरमा जगदम्वा मोटर्सका बजार अधिकृत विक्रम पौडेलले क्लबका अध्यक्ष मनवीर छन्त्याललाई पाँच थान स्कुटीको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरणपछि जगदम्बाका विक्रम पौडेलले ढोरपाटन भलिबललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सर्वाधिक पुरस्कार रासीको महिला डबल लिग भलिबल पुष २३ देखि माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा चल्ने हुनेछ । दश टिमको सहभागिता रहेको प्रतियोगितामा गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज रहेका छन् । न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडलको प्रतियोगितामा पहिलो सहभागिता हो । रिड मोडल कलेज काठमाडौंको टिमबाट भने भारतीय खेलाडीहरुले खेल्ने आयोजकले जानकारी गराए । रिड मोडलका क्याम्पस प्रमुख डाक्टर आलोक प्रसाईंले खेलले नै सबैलाई चिनाउने भएकाले यसपटकबाट प्रतियोगितामा सहभागिता जनाएको बताए ।
महिला डबल लिग भलिबलको विजेताले ३ लाख २० हजारसहित रनिङशिल्ड र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने क्लबका महासचिव देवेन्द्र घर्तीमगरले जानकारी दिए । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ । महिला भलिबल लिग सकिएपछि आयोजकले पाँचौ संस्करणको पुरुष भलिबल पनि आयोजान गर्ने बताएको छ ।
पोखराको ज्ञानुबाबा उच्च मावि ढोरपाटनको दोस्रो संस्करण देखि छैटौ संस्करण सम्म लगातार पाँचपटक उपाधि हात पार्ने सर्वाधिक सफल टिम हो । सशस्त्र प्रहरी बल एपीएफले आठौं संस्करण देखि एघारौं संस्करण सम्म चारपटक उपाधि हात पारेको छ । सातौं सस्करणमा नेपाल पुलिस क्लव च्याम्पियन बनेको थियो ।