सेमिनार सुरु
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा टेक्निकल तथा रेफ्री सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।सेमिनारमा नेपाल, भारत, जर्मनी, भुटान, इङल्यान्ड र बंगलादेशका १ सय २० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले जनाएका छन् । सेमिनार शुक्रबारसम्म चल्नेछ ।
कानाजावा कप शनिबारदेखि ः
यसैबीच एसकेआईएफकै आयोजनामा नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि सातदोबाटोमा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपाल, भारत, जर्मनी, भुटान, इङल्यान्ड र बंगलादेशका १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ । दुईदिने प्रतियोगितामा २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समापनका अवसरमा हालै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पुरुष ७५ केजीमा स्वर्ण जितेका सुवास घोतानेलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।