खेलकुदलाई विकेन्द्रित गर्नुपर्ने शेर्पाको विचार

Manoj Shiama
15 January, 2017 9:45 am

माघे संक्रान्ति पर्वको अवसरमा पोखराको ढुङगेसाँघुमा आयोजित १६ औ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते तथा पाँचौ क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताको अवसरमा सातौ राष्ट्रिय खेलकुदमा पदक जित्न सफल पश्चिमाञ्चलका खेलाडीलाई सम्मान गरिएको छ । पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलबाट स्वर्ण पदक जित्न सफल सुस्मी श्रेष्ठ, रजत पदक जित्न सफल सुनिता गुरुङ र कास्य पदक विजेता सुवाष खड्कालाई सम्मान गरिएको हो । त्यस्तै कार्यक्रमम पश्चिमाञ्चलमा पहिलो महिला ब्ल्याकबेल्ट प्राप्त खेलाडी पवित्रा थापा र ढुङगेसाँघुमा आयोजित नवौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको महिला च्याम्पियन शिशिर थापा गोदारलाई सम्मान गरियो । सम्मानित सवैलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एंव ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिक अध्यक्ष खगराज पौडेल, सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका एसएसपी कृष्णभक्त ब्रहमाचार्य लगायतले सम्मानपत्र, माला र अविर लगाएर सम्मान गरेका थिए ।
सम्मानपछि बोल्दै लामाले खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए । उनँले खेलकुद राजधानी काठमाडौमा मात्रै केन्द्रीत हुने गरेको भन्दै विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिए । खेल संस्कृतिमा पोखरा धनि रहेको बताउदै सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग गेम पोखरामा हुुनुपर्ने बताए । काठमाडौले धेरै अन्तराष्ट्रिय खेलहरु संचालन गरिसकेकाले अव पोखरामा सकेसम्म सवै नभए अधिकांश खेलहरु संचालन गर्नुपर्ने र त्यसका लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । पोखरा नेपालको मात्रै नभएर विश्वकै सुन्दर शहर भएकाले यहाँ क्रिकेटको अन्तराष्ट्रिय मैदान निर्माण गर्नुपर्ने बताए ।
मैदान निर्माण भए पोखरा खेलकुदको केन्द्र बन्ने बताउदै क्रिकेटको अन्तराष्ट्रिय मैदान पोखरामा बनाउन आगामी बोर्ड बैठकमा प्रस्ताव लैजाने र त्यसलाई पास गराएर कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘विश्वकै उत्कृष्ट क्रिकेट मैदान पोखरा रगंशालाको किक्रेट मैदान हुन्छ, निर्माणको लागी प्रस्ताव आगामी बोर्ड बैठकमा लैजान्छौ ।’ कार्यक्रममा बुदोकाई कराँतेका पश्चिमाञ्चल प्रमुख दिपक गोदारले स्टिक ब्रेक र दानबहादुर तामाङले ढुङगा ब्रेक गरेका थिए । कार्यक्रममा नृत्य, गीतहरु प्रस्तुत गरिएको थियो ।