रिड मोडल र एपीएफको अंक बराबरी


१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणमा रिड मोडल कलेज र विभागीय टोली एपीएफले आ–आफ्नो खेल जित्दै समान अंक बनाएका छन् । एपीएफभन्दा रिड मोडलले एक खेल कम खेलेकोले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ । बुधबार भएको खेलमा जित हासिल गर्दै रिड मोडलले ३३ अंक बनाएको छ भने एक खेल बढी खेलेको एपीएफले १२ खेलबाट ३३ अंक बनाएको छ ।
रिड मोडलले बुधबार विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । क्रिन्जल वुमन अफ द म्याच भएको खेलमा रिड मोडलले पुलिसलाई २५–६, २५–१८ र २५–९ को सेटमा पाखा लगायो । त्यस्तै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई पनि ३–० कै सेटमा पाखा लगायो । चन्द्रा राना वुमन अफ द म्याच भएको खेलमा एपीएफले आर्मीलाई २५–१०, २५–१५ र २५–२३ ले निरास बनायो ।
लिगको तेस्रो स्थानमा रहेको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हरायो । न्यु डायमन्डकी सेटर कृपा अधिकारी वुमन अफ द म्याचको उत्कृष्ट प्रदर्शनले पश्चिमाञ्चललाई २५–२०, २३–२५, २५–२० र २५–१५ को सेटमा हरायो । त्यसैगरी बुधबारको आफ्नो दोस्रो खेलमा भने पुलिसले बाजी मारेको छ । पुलिसकी विमला कठायतको उत्कृष्ट प्रदर्शनमा आयोजक ढोरपाटनलाई २५–१२, २५–१७ र २५–१३ को सेटमा निरास बनायो । दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी कमला पुनले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।
जारी लिगमा न्यु डायमन्डको ११ खेलबाट २७ अंक भएको छ भने पुलिसले १२ खेलबाट २१ अंक जोडेको छ । त्यसैगरी पश्चिमाञ्चल १२ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी विभागीय टोली आर्मीले १२ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्वलले दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १२ खेलबाट ८ अंकमा सीमित भएको छ ।

Comment