रिड मोडल कलेजलाई ढोरपाटन डबल लिग महिला भलिबल उपाधि

Manoj Shiama
21 January, 2017 7:08 pm


१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रिड मोडल कलेजले जितेको छ । प्रतियोगितामा पहिलो पटक सहभागी भएको कलेजले अपराजित रहँदै उपाधि जितेको हो ।शनिबार भएको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै रिड मोडलले उपाधि निश्चित गरेको हो । उपाधिसँगै रिड मोडलले नगद ३ लाख २० हजार रुपैयाँ पनि हात पार्न सफल भएको छ । रिड मोडलले १५ खेलबाट ४५ अंक हासिल ग¥यो । शनिबार भएको उपाधि भिडन्तमा रिड मोडलले एपीएफ क्लवलाई २५–२०, २५–१६ र २५–२० को सेटमा हरायो । त्यस्तै दोस्रो खेलमा रिड मोडलले न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पाखा लगायो । न्यु डायमन्डले साहसिक प्रदर्शन गरेको खेलमा रिड मोडल २५–१९, २५–१६, २३–२५ र २५–१९ ले विजयी भयो ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव दोस्रो स्थानमा सीमित हुँदा न्यु डायमन्ड एकेडेमी तेस्रो स्थानमा झरेको छ । लिगमा १५ खेल खेलेको एपीएफले १३ खेलमा जित र २ हार बेहोर्दै ३९ अंक जोड्यो भने न्यु डायमन्डले समान खेलबाट ११ जित र ४ हार बेहोरेपछि ३३ अंक लिएर तेस्रो स्थानमा खुम्चियो ।
लिगको अन्तिम खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पाखा लगायो । न्यु डायमन्ड २५–२२, २५–१५ र २५–२३ को सेटमा विजयी भयो । आफूले खेलेका १५ खेलमध्ये ९ खेलमा जित ६ मा पराजय बेहोर्दै पुलिस चौथो स्थानमा सीमित रह्यो भने पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पाँचौं, नेपाल आर्मी छैटौं र आयोजक ढोरपाटन स्पोर्टस् क्लव सातौं स्थानमा रह्यो ।
लिगको वेस्ट स्पाइकर रिड मोडलकी निर्मल, वेस्ट लिफ्टर रिड मोडलकै तेरिन, वेस्ट सर्भर, एपीएफकी नेविका चौधरी, वेस्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, वेस्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर र वेस्ट ब्लकर एपीएफकी उषा विष्ट र वेस्ट कोच रिड मोडलका खुम गाउँले घोषित भए । उत्कृष्ट सबैलाई जनही ५÷५ हजार प्रदान गरियो ।विजयी खेलाडीलाई माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जरमण शर्मालगायतले पुरस्कृत गरे ।