आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न कार्यदल

Manoj Shiama
21 January, 2017 8:04 pm

मध्यपश्चिमाञ्चलले आयोजनाको जिम्मेवारी पाएको आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारी अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ‘आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल’ गठन गरेको छ । राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलको सदस्यहरुमा राखेपकी सदस्य शान्ति सिंह, राखेपकै सदस्य विनोदकुमार मैनाली, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि र राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका विश्वामित्र सन्जेल सदस्य रहेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली सचिव छन् ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश हुने विभिन्न खेलहरुको सम्भावित खेलस्थलहरुको अध्ययन गरी पूर्वाधार तयारीका सिलसिलामा निर्माण तथा मर्मत सम्भार गर्नु पर्ने विषयहरुको एकिन गर्न आवश्यक भएकोले कार्यदल गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन् ।
गत पुस १५ गते सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतित्यथामा भएको सातौं राष्ट्रिय खेलकुदको समापन समारोहमा २०७५ सालमा सम्पन्न गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई हस्तान्तरण गरिएको थियो । मध्यपश्चिमाञ्चलमा बृहत राष्ट्रिय खेलकुद हुन लागेको यो दोश्रो पटक हो । यसअघि मध्यपश्चिमाञ्चलले २०५५ सालको चैतमा बृहत खेलकुदको चौथो संस्करण आयोजना गरेको थियो ।