सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सुरु

Manoj Shiama
26 January, 2017 7:02 pm

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा बिहिबार ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ सुरु भयो । सो प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङले आज सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उद्घाटन गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले त्यसअवसरमा लनटेनिसका प्रमुख रेफ्री कृष्णराज घलेलाई लनटेनिस बल हस्तान्तरण गरी खेलको शुभारम्भ गरेका हुन् ।
समारोहमा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले प्रतियोगिता सम्बन्धि विविध विषयमा प्रकाश पार्नुहुँदै प्रतिभावान खेलाडी पहिचान गरी कूशल खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कूल १३ इभेन्ट्समा समावेश रहेको उक्त प्रतियोगितामा पुरुष १ सय ८८ जना र महिला ३२ जना गरी कूल २ सय २० जना खेलाडीहरुको सहभागीता रहेको छ । सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख ९५ हजार रुपैयाँ रहेको छ । १९ माघसम्मसंचालन हुने उक्त प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्थित लनटेनिस कोर्ट तथा ललितपुर सातदोबाटो स्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा सञ्चालन हुने छ ।
समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु लगायत विभिन्न खेलकुद संघका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको पुरुष एकलतर्फको खेलमा बवि चन्दले त्रिभुवन विष्टलाई ६–१ र ६–३ र बिकास पाण्डेले डा. इश्वर लोहोनिलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने अमुल्य सिंह र कैलाश गुरुङ्गले वाक ओभर पाएका छन् ।
यसैगरी सातदोबाटो स्थित लनटेनिस कोर्टमा सम्पन्न पुरुष एकलतर्फको खेलमा रेन्जन लामाले सौरवराज पाण्डेलाई ६–० र ६–० ले, सक्षम कार्कीले प्रवेश पन्तलाई ६–२, २–६ र ६–४ ले, समयक बहादुर बज्राचार्यले अभिनभ आचार्यलाई ६–० र ६–२ ले, कुमार अधिकारीले अमित बिष्टलाई ६–० र ६–१ ले, पंकज शर्माले निशान श्रेष्ठलाई ६–२, ४–६ र ६–३ ले, प्रदिप खड्काले हर्षवर्धव चन्दलाइ ६–४ र ६–४ ले, आरभ सम्राट हाडाले सन्तोष खत्रीलाई ६–१, र ६–२ ले, जीतेन्द्र परियारले आडित सुवेदीलाई ६–० र ६–० तथा आभाष मल्लले निस्चल अधिकारीलाई ६–० र ६–० पराजित गरेका छन् ।
बिहिबार नै भएको महिला एकल तर्फको खेलमा सर्वणी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–२ र ६–२ ले, लुमु छिरिङ्ग लामाले सुरभी कटुवालाई ६–० र ६–० ले र स्नेह यादवले सुभाङ्गी लक्ष्मी शाहलाई ६–१, ४–६ र ६–४ ले पराजित गरेका छन् ।
यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा उमेश शाहीले रामेश्वर थापालाई १–६, ७–५ र १०–९ ले पराजित गरेको छन् भने रामु ढकाले वाक ओभर पाएका छन् । यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा राजेन्द्र श्रेष्ठले वाक ओभर पाएका छन् ।