आयोजक एपीएफको बिजयी शुरुवात


सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले बिजयी शुरुवात गरेको छ । एपीएफको हलचोक स्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–२०,२५–९ र २५–१२ को सहज जित निकाल्यो । एपीएफकी नियमित कप्तान बिनिता बुढाथोकी लगायत नेबिका चौधरी,सरस्वती चौधरी,रेश्मा भण्डारी र उषा बिष्ट वुमन वल्ड छनोट प्रतियोगिता खेल्न माल्दिप्स गएका छन् । उद्घाटन खेलमा एपीएफकी हिरा केसी वुमन अफ द म्याच भईन् । उनलाई नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्काले वुमन अफ द म्याचको उपाधिले पुरस्कृत गरेका थिए । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा एपीएफ,न्युडायमण्ड र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा रहेका छन् । त्यस्तै पुलिस,पश्चिमाञ्चल र आर्मी समूह बि मा रहेका छन् । माघ २० गते सम्म संचालन हुने प्रतियोगितको बिजेताले २ लाख ५० हजार,उपबिजेताले १ लाख २५ हजार र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताका बिघागत उत्कृष्टले जनहि नगद ५ हजार प्राप्त गर्ने छन् ।

Comment