रिङ रेस्लिङ एकेडेमी स्थापना
नेपाल रिङ रेस्लिङ संघले लैनचैरमा रिङ रेस्लिङ एकेडेमी स्थापना गरेको छ ।रेस्लिङको प्रारम्भिक चरणदेखि विशिष्ट प्रशिक्षण दिने उद्देश्यले संघले एकेडेमी स्थापना गरेको बताएको छ । एकेडेमीमा बिहिबारदेखि पहिलो चरणको प्रशिक्षण कार्यक्रम शुरु हुने छ । ३ महिने प्रशिक्षण कार्यक्रममा छनोट गरिएका १० खेलाडीले प्रशिक्षण लिइरहेका छन् । बुधबार एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना र प्रेस चौतारी नेपालमा अध्यक्ष गणेश बस्नेतले एकेडेमीका उद्घाटन गरेका थिए ।
संघकी अध्यक्ष सुनिता थापाले दोस्रो अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिपका लागि नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीमा तत्काल प्रशिक्षण शुरु गरिएको बताइन । यस गत गत अप्रेलमा पहिलो च्याम्पियनसिप भएको थियो । ‘यस पटकको च्याम्पियनसिपमा १८ देशको सहभागीता हुने छ,’ उनले भनिन् । खेलाडीले प्रत्येक दिन ६ घण्टा प्रशिक्षण गर्ने छन् । कमल तामाङ र रेफ्रीतर्फ सुनिता थापाले प्रशिक्षण दिने छन् ।
पछिल्लो समय रेस्लिङको लोकप्रियता बढ्दै गएकाले युवा तथा विद्यार्थीलाई समेत लक्षित गरेर एकेडेमी स्थापना गरिएको संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् । ‘हामीले महिलाका लागि विशेष व्यवस्था गरेका छौं । पहिलो चरणमा ४ जना महिला खेलाडीलाई निशुल्क विशेष प्रशिक्षण दिने व्यवस्था गरिएको छ,’श्रेष्ठले भनिन् ।
यसैगरि १ देखि ४ मार्चसम्म पोखरामा हुने जंगल फेस्बिलमा इन्डो नेपाल च्याम्पियनसिप हुने भएको छ । त्यसका लागि संघले विशेषतयारी गरिरहेको श्रेष्ठले बताइन् ।