अन्तराष्ट्रिय तेक्वान्दौ माघ अन्तिम साता

नेपाल तेक्वान्दो संघमा आवद्ध युनाईटेड तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाण्डौ अन्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि २९ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्र कोरिया, भारत, बंगलादेश, भुटान, मलेशिया, ईन्डोनेशिया र सिंगापुरका करिव ५ सय खेलाडीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी गराए ।
१२ देखि १४ बर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ बर्षको जुनियर महिला तथा पुरुष र १७ बर्ष माथीको सिनियर महिला तथा पुरुष गरि ६ डिभिजनमा खेलाईने प्रतियोगितामा फाईट तर्फ ४० र पुम्से तर्फ ३८ स्वर्ण गरि कुल ७८ स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
करिब ३० लाख अनुमानित लागत रहेको प्रतियोगितामा फाइट (क्योरुगी) तर्फ प्रत्येक डिभिजनका ब्यक्तिगत र टिमका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र र प्रत्येक डिभिजनका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा प्रमाण पत्रद्वारा पुरस्किृत गरिने छ । यस्तै पुम्से तर्फ ब्यक्तिगत, जोडी र टिमका प्रत्येक डभिजनका विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा नेपालका खेलाडीहरुलाई १ हजार दर्ता शुल्क र बिदेशी खेलाडीहरुलाई १ सय डलर दर्ता शुल्क लिईने सम्मेलनमा जानकारी गराईयो । जसमा खान, बस्नको सुविधा आयोजकले ब्यहोर्ने छन् । बंगलादेशका खेलाडीहरुलाई भने २० जना खेलाडीहरुमा ५ जनालाई निशुल्क दर्ता दिईएको छ । कोरियाबाट २ देखि ४ जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएकोमा उक्त खेलाडीहरुको दर्ता शुल्कलाई निशुल्क गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगिता अन्तरगत पारा तेक्वान्दोको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल र भारत पारा तेक्वान्दो खेलाडीहरुकोविच प्रदर्शन खेल समेत समावेश गरिएको छ ।
नेपालका क्लब तथा डोजाङ्गका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन् ।

Comment