लपु उपमहानगरपालिका च्याम्पियन
ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र सहभागिता जनाएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, बुद्धिचाल र टेबलटेनिस मध्ये ललितपुरले टेबलटेनिसमा मात्र भाग लिएको थियो ।
दोश्रो भएको नेपाल विद्युत प्राधिकरणले १ स्वर्ण, २ रजत र १ कांस्य प्राप्त ग¥यो । १ स्वर्ण, १ रजत र ३ कांस्यसहित प्रतियोगिताको मुख्य प्रायोजक नेपाल टेलिकमले तेश्रो स्थानमा चित्त बुझायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबारै भएको पुरुष भलिबलको फाइनलमा उदयपुर सिमेन्टले विद्युतलाई २१–२५, २५–१७, २५–१७ र २५–१२ को सेटमा पराजित गर्दै उपाधि जित्यो । नागरिक उड्डयनले तेश्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण श्रेष्ठ, विद्युतकी उप कार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्य, नागरिक उड्डयनका निमित्त कार्यकारी निर्देशक राजन पोखरेल, टेलिकमका नायब प्रबन्ध निर्देशक रविन्द्र झा, आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताअन्तर्गत ३ खेलमा १८ संस्थाका २ सय ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । बुद्धिचाल र टेबलटेनिस बुधबारै सम्पन्न भएको थियो । त्यसमा पनि नगद पुरस्कारको व्यवस्था थियो ।