डाँगीलाई एमेच्योर चेस उपाधि
Manoj Shiama
3 February, 2017 9:56 am
हेटौडा। नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्धारा संयुक्तरुपमा आयोजित प्रेम बहादुर थापामगरस्मृति चौथौं राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसीपको उपाधि सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार हात पार्नुका साथ यहि अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधीत्व गर्नेछन् । उनले विहीबार सम्पन्न छैटौं खेलमा थापाथलि चेस पार्कका सुशिल चौधरी र सातौंमा रुकुमका मिलन रोकालाई हराइ साढे ५ अंक प्राप्त गरेका थिए । यस्तै समान साढे ५ अंक भए पनि डाइरेक्ट इनकाउन्टर टाईब्रेकमा थापाथलिका सुमित पन्त दोश्रो र काठमाण्डौका नविन तण्डुकार तेश्रा भए । सुमितले नगद १५ हजार र नविनले साढे ७ हजार प्राप्त गरे ।
हेटौडास्थित मोटेल एभाकाडो एण्ड ओर्चिड रिसोर्टमा संचालित प्रतियोगितामा काठमाण्डौका सुरज पण्डित ५ अंकका साथ चौथौं भए । त्यस्तै भक्तपुरका राज प्रजापति साढे ४ अंक साढे १७ प्रोग्रेसिवका साथ पाँचौं भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार थापे ।
स्वीस लिग ७ चरणका खेल भएको चारदिने प्रतियोगितामा खोटाङ्गका संजय राइ छैटौं, भोजपुरका सुमन राइ सातौं, थापाथलितका सुशिल चौधरी आठौं, झापाका राजन सुवेदी नवौं र रुकुमका मिलन रोका दशौं हुन सफल भए । उनीहरुले जनही ३ हजार नगद पुरस्कार प्राप्त गरे । यसै गरी स्थानियतर्फ बलराम सन्जेल उत्कृष्ठ घोषित भए । उनले नगद २ हजार पाँचसय हात पारे ।
प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठको सभापतित्वमा एक कार्यक्रमबीच प्रमुख अतिथि मकवानपुर क्षेत्र नं. ४ का माननीय साँसद राजाराम स्याङ्गताङ्ग, नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरम बहादुर लामा लगायतले ट्रफि, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे ।