सिटिजन्स बैंक टेनिस आइतबारदेखि
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ । बैंकको दसौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका निर्देशक एवं आयोजक संघका अध्यक्ष मनोहरदास मुलले प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने जानकारी गराए । पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै भेट्रानतर्फ ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स÷डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुने लनटेनिस संघका केन्द्रीय महासचिव समेत रहेका मुलले जानकारी दिए ।
नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन् । पुरुष डबल्स÷मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोश्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्ने छन् । त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।
साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको कोर्ट र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ ।