भग्वती, गंगा र स्नेहा क्वाटरफाइनलमा


भग्वती विक, गंगा शर्मा र स्नेहा यादव पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लन टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भग्वतीले सलोनी तामाङलाई ६–२ र ६–१, गंगाले अभिलाषा विष्टलाई ६–१ र ६–१ तथा स्नेहाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा रञ्जन श्रेष्ठले प्रीतम परियारलाई ६–० र ६–१, अभिनव आचार्यले श्रीयान्स अग्रवाललाई ६–० र ६–२, सुब्रत बस्नेतले डा. देव थापालाई ६–४ र ६–०, प्रदीप खड्काले कोनोन एफ. स्क्युसलाई ६–१ र ६–०, कुवेहाङ चेम्जोङले निशान श्रेष्ठलाई ६–१ र ६–१, विकास खड्काले सन्दिप पौडेललाई ६–० र ६–० तथा अदित सुवेदीले नवीन श्रेष्ठलाई ६–२ र ६–४ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा आत्माराम कार्की, रोहित सुनुवार, निरज थापा, कमल भण्डारी, छेवाङ लामा, सन्जिव श्रेष्ठ, सुबोध अधिकारी र डा. देव थापा प्रिक्वाटरफाइनलमा पुगे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विभु कायश्थ, समिर शेरचन, संग्रामसिंह लामा, मनोहरदास मुल, विमल गुरुङ, प्रदीप शाह, अमृत रोका र विकास गुरुङ अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा डा. पवित्रजंग रायमाझी र नरेन्द्र रावल तथा प्रेमकुमार शाही र अमृत कंशाकार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मुरारीभक्त माथेमाले प्रतिद्वनद्वी चन्द्रमान तुलाधरबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।
प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र सातदोबाटोस्थित टेनिस कोर्टमा हुने साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरुष÷महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन् । पुरुष डबल्स÷मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोश्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्ने छन् । त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।

Comment