स्वर्ण विजेता अशोक सम्मानित
एनआरएनए, अस्ट्रेलियाले गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपाली खेलाडी अशोक खड्कालाई बुधबार सम्मान गरेको छ । अस्ट्रेलियाको सिडनीमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, ग्लोबल युथ को–ओर्डिनेटर विजय पोखरेललगायतले अशोकलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा अशोकलाई करिब १ लाख नगद प्रदान गरिने घोषणा गरिएको थियो ।
मे ६ देखि ८ तारिखसम्म अस्ट्रलियाको गोल्डकोस्टमा भएको प्रतियोगिताको पहिलो दिन अशोकले पुरुष एकल पुम्सेमा नेपाललाई स्वर्ण दिलाएका थिए । सहभागी १४ प्रतिस्पर्धीलाई उछिन्ने क्रममा अशोकले सर्वाधिक ९.१६ अंक जोडेका थिए ।
सम्मानित अशोकले खेलकुद मार्फत आफ्नो राष्ट्रको गौरव अभिबृद्धि गर्न थप प्रेरणा मिलेको बताउदै सम्मानले अझ जिम्मेवारी बोध महसुश गराएको धारणा व्यक्त गरे ।