किमलाई धन्यवादज्ञापन
पोखरामा स्केट पार्क निर्माण गर्न सहयोग पु¥याएको ‘मेक लाइफ, स्केट लाइफ’ टोलीकी सदस्य मध्येकी एक किम इवेन्सलाई नेपाल स्केटिङ तथा स्केट बोर्ड संघले शुक्रबार एक कार्यक्रमबीच धन्यवादज्ञापन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रेस सल्लाहकार रोहित दाहाल, संघका अध्यक्ष अच्यूत खनाल र महासचिव चूडामणि खरेलले बेल्जियम निवासी किमलाई मायाको चिनो प्रदान गरे ।
पोखरा रंगशालामा निर्माण गरिएको उक्त स्केट पार्क पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई अप्रिल २९ तारिख हस्तान्तरण गरिएको थियो । करिब ३० हजार डलर खर्च गरी निर्माण गरिएको उक्त पार्क १८ दिनमा टोलीले निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो । विभिन्न राष्ट्रका ६० विदेशीले निर्माण कार्यमा श्रमदान गरेका थिए ।
त्यस अवसरमा किमले पार्कको रेखदेख राम्रोसंग हुनु पर्नेमा जोड दिदै बालवालिकालाई स्केट सिक्नका लागि स्केट बोर्डको व्यवस्था गरिदिने बताइन् । किमले आफूहरुसंग जनशक्ति भएकाले कुनै निकायले अनुरोध गरेको खण्डमा स्केट पार्क निर्माण गरिदिन तयार रहेको बताइन् । किमको टोलीले बोलिभियन, जोर्डन, भारतलगायतका स्थानमा पनि स्केट पार्क निर्माण गरिदिएका थिए ।प्रेस सल्लाहकार दाहालले स्केट पार्कको रेखदेखका लागि विशेष ध्यान दिने बताउदै किमलगायतको टोलीले स्केट पार्क निर्माण गरेर उनीहरुले स्केटप्रति मात्र नभइ समग्र नेपाललाई माया दर्शाएका धारण व्यक्त गरे ।
अध्यक्ष खनाल र महासचिव खरेलले किमसहितको टोलीले गरेको कार्यको प्रशंसा गर्दै टोलीलाई धन्यवाद दिए । उनीहरुले नेपालका अन्यत्र स्थानमा पनि पार्क निर्माणका लागि योजना बनाउन आग्रह गरे ।