हिमालयन कप बास्केटबलमा ४४ टिम

Manoj Shiama
20 May, 2017 5:58 am


हिमालयन एकेडेमीको आयोजनामा प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा ४४ टिमको सहभागिता रहने हिमालयनका अध्यक्ष प्रेमप्रसाद तिमल्सिनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
तीनै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने मानार्थ अध्यक्ष अम्बर क्षेत्रीले जानकारी दिए । एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित मैत्रीनगरमा हुनेछन् ।