कृषा सम्मानित
नेपाल सोतोकान कराते संघ (एनएसकेए) ले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी कृषा शेर्पालाई बुधबार नगदसहित सम्मान गरेको छ । संघकै आयोजनामा बुधबारदेखि सुरु भएको दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन अवसरमा कृषालाई सम्मान गरिएको हो । कृषाले गत फेब्रुअरीको २५ र २६ तारिखमा मलेसियाको क्वालालम्पुरमा भएको आठौं नाइट साइलेन्ट कराते कपमा दुई पदक जितेकी थिइन् । कृषाले नेपाललाई महिलाको ६० केजीमा स्वर्ण तथा एकल कातामा कांस्य दिलाएकी थिइन् ।
नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले कृषालाई सम्मान पत्र र ५१ हजार नगद प्रदान गरी सम्मान गरे ।
प्रतियोगितामा नेपालसहित ७ राष्ट्रका ८ सय ७४ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । शेर्पाका अनुसार नेपालबाट २ सय ५०, भारतबाट ६ सय, बंगलादेश र श्रीलंकाबाट समान ७–७, पाकिस्तानबाट ४ र तान्जेनिया र युएईबाट समान ३–३ खेलाडी सहभागी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारसम्म चल्ने प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ९४ कांस्यका लागि प्रतिस्पर्धा भइरहेको छ ।