जुडोमा नेपालको पराजय

हङकङमा जारी एसियाली जुडो च्याम्पियनसिपमा नेपाली खेलाडी शुक्रबार पराजित भएका छन् । ३ महिला र ४ पुरुष खेलाडीले प्रतियोगितामा सहभागिता जनाएकोमा ६ खेलाडीको चुनौती समाप्त भएको छ । पुरुषको ६६ केजीमुनि नेपालका इन्द्रबहादुर श्रेष्ठ काजाकिस्तान, ६० केजीमुनि नेपालका किरण गडेल उत्तर कोरिया र ७३ केजीमुनि नेपालका सन्जित डंगोल कतारका खेलाडीसंग पराजित भए । पराजित भएपनि खेलाडीत्रयले पूरा समय ४ मिनेटसम्म टिकेर खेलेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
महिलाको ५२ केजीमुनि नेपालकी लीला अधिकारी दक्षिण कोरिया तथा ६३ केजीमुनि ओलम्पियन फुपुल्हामु खत्री चीनका खेलाडीसंग चुके ।
त्यस्तै महिलाको ५७ केजीमुनि नेपालकी मनीता श्रेष्ठ प्रधान दोश्रो खेलमा मंगोलियाकी खेलाडीसंग पराजित भइन् । त्यसअघि पहिलो खेलमा मनीताले आयोजक राष्ट्र हङकङकी खेलाडीलाई हराएकी थिइन् । एसियाली जुडोमा एक ‘बाउट’ जित्ने मनीता पहिलो महिला खेलाडी र समग्रमा दोश्रो जुडो खेलाडी बनेकी छन् । सन् १९८८ मा सिरियामा भएको एसियाली जुडोमा ओलम्पियन ऋषिराम प्रधानले एक ‘बाउट’ जितेका थिए ।
अब नेपालबाट पुरुषको ८१ केजीमुनि मोहन सुनुवारले मात्र खेल्न बाँकी छ । उक्त खेल शनिबार हुने महासचिव श्रेष्ठले जानकारी गराए ।

Comment