राइको विदाइ तथा सम्मान
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले कर्ण बहादुर राईलाई ५१००० हजार पुरस्कार सहित सम्मान तथा भब्य बिदाइ गरेको छ । आफ्नो कार्यकाल पुरा गरी कर्ण बहादुर राइ २९ मेको दिन नेपाल फर्कन लागेका हुन । अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे बापत संघले उनलाई पुरस्कृत गरिएको हो । पुरस्कार वितरण गर्दै प्रमुख अतिथी एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेमगरले राइको साहसको कदर गर्दै राष्ट्रिय खेलेकुद परिषद र नेपाल कराते महासंघले पनि उनलाई सहि सम्मान दिनेमा एनआरएनए मलेसिया आशावादी रहेको तथा उनको योगदानले मलेसियामा रहेका नेपालीहरुलाई हौसला बढाएको बताए ।
बिगत तीन वर्ष देखि विभिन्न अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक प्राप्त गर्ने राई, नेपाली प्रवासी सितोरियो कराते संघमा बरिष्ठ उपाध्यक्ष समेत थिए । विदाई कार्यक्रममा नेपालबाट १४ वटा देश घुम्दै सिङापुर हुदै मलेसिया आएका साइकलयात्रीहरु अनिष ढकाल, निर्मल बराल र दिलिप क्षेत्रीलाई पनि भब्य सम्मान तथा बिदाइ गरिएको छ। कार्यक्रममा विशेष अतिथी ब्यापारी समाज मलेसियाका सचिव बिपिन राई र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला, पत्रकार रामचन्द्र गिरीले विदाई भएर जाने कर्ण राईलाई यात्राको कामनाको साथै स्वर्ण पदक हात पारेकोमा प्रंसशा गरे ।
कार्यक्रममा इलामेली समाजका अध्यक्ष नरेन्द्र कार्की, लोकगायिका अस्मिता शर्मा, कलाकार लक्ष्मी भट्ट, कराते खेलाडी राम तामाङ र तुलाराम धामी साथै किरात यायोक्खा प्रतिनिधि महेश राईको सहभागीता थियो । कार्यक्रम संचालन, कराते महासचिव नर्बु तामाङले गरेका थिए। कार्यक्रम नेपाली प्रवासी सितोरियो कराते नयाँ डोजो हलमा सभापतित्व योगेन्द्र कोइरालाले गरेका थिए ।