मकाउमा नेपाली तेक्वान्दो टोलीलाई आर्थिक सहयोग
मकाउस्थित ताईपा ओलम्पिक स्टेडियममा आयोजित मकाउ ओपन तेक्वान्दो प्रतियोगिताका लागि बैदेशिक भूमी मकाउ पुगेको नेपाली टोलीलाई त्यहाँस्थित पूर्व तेक्वान्दो खेलाडीहरुले आर्थिक सहयोग गरेका थिए । बब्लु सिवाकोटीको नेतृत्वमा उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न गएको टोलीलाई मकाउस्थित पूर्व खेलाडीहरुले नगद १ लाख सहयोग गरेको सिवाकोटीले जानकारी गराए । यस्तै ७ सदस्यीय तेक्वान्दो टोलीको खान, बस्न र प्रतियोगिताको लागि आवश्यक १५ सय हङ्गकङ्ग डलर नेपाल चेम्बर अफ कमर्स, मकाउका अध्यक्ष सुदर्शन थापा मगरले प्रायोजन गरेको टिमका प्रशिक्षक एवं खेलाडी सिवाकोटीले बताए । नेपाली टोली आर्थिक अभावका कारण विभिन्न बैदेशिक प्रतियोगिताहरुमा सभागिता जनाई रहेका हुन्छन् यस्तोमा उनीहरुलाई आर्थिक तथा अन्य सहयोग पु¥याउन सके नेपाली खेलाडीहरुको हौसला अभिबृद्धि हुनुका साथै राम्रो प्रदर्शन गर्न सक्ने र एक नेपालीले अर्को नेपालीलाई केहि सहयोग गर्नु गौरवको विषय हुने अध्यक्ष मगरले बताए ।
जेष्ठ २७ र २८ गते भएको प्रतियोगितामा नेपाली खेलाडीहरुले १ स्वर्ण र ५ रजत पदक जितेका थिए । स्वर्ण जित्नेमा सोरमुला बाबु मियाँ थिए । उनले जुनियर ५९ केजी मुनिमा उक्त पदक हात पारेका थिए । यस्तै निश्चल बस्नेतले ४८ केजी, पारस भण्डारीले ५१ केजी, विशाल गोलेले ५५ केजी, प्रदीप कँडेलले ८४ केजी र बब्लु सिवाकोटीले ७४ केजीमा रजत पदक प्राप्त गरेको टोली व्यवस्थापक फिरोज श्रेष्ठले जानकारी गराए ।