मेलिनालाई स्वर्ण


नेपालकी मेलिना मगरले दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजीमा शनिबार स्वर्ण जितेकी छन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मेलिनाले नेपालकी मनीषा चौधरीलाई पराजित गरिन् । नेपालका शान्ता श्रेष्ठ र सिर्जना महर्जन तेश्रो भए ।
त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५५ केजीको उपाधि विजय श्रेष्ठले जिते । उनले फाइनलमा नेपालका आशिष लामालाई हराए । नेपालका सोनाम लामा र सन्देश लामा संयुक्त रुपमा तेश्रो बने ।
महिला ६१ केजीमा नेपालकी रुपा महर्जन पहिलो भइन् । रुपाले उपाधि भिडन्तमा नेपालकी अनु गुरुङको चुनौती समाप्त पारिन् । नेपालका सोनी मोक्तान र एस्टर राई तेश्रो स्थानमा रहे ।
पुरुष ५० केजीको फाइनलमा नेपालका नवराज श्रेष्ठले नेपालकै मनीष थापालाई पाखा लगाउदै स्वर्ण चुमे । नेपालका विक्रम तामाङ र प्रिन्स स्याङतान तेश्रो भए । पुरुष ६० केजीको फाइनलमा नेपालका सुजन श्रेष्ठले बाजी मारे । उनले फाइनलमा नेपालका गणेशलाई निराश पारे । नेपालका सञ्जयबहादुर थापा र राविज पुडासैनी तेश्रो भए ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपाल र भारतबाट ३ सय १० खेलाडीले विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका संरक्षक एवं अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, अमेरिकाका दक्षिण एसियाली प्रमुख शान्त ठोकरले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

 

Comment