खेलकुद अस्पतालको सिलान्यास
खेलकुद अस्पतालको सिलान्यास राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्त सिलान्यास गरे । गत जेठ २० गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको लनटेनिसको पूर्वाधार रहेको छेउमा अस्पताल निर्माण गर्न लागिएको हो । तीन तलाको अस्पताल इमर्जेन्सी बाहेक १० शययाको हुनेछ । करिब १४ करोड खर्च हुने अनुमान गरिएको अस्पतालका लागि आर्थिक वर्षमा पनि बजेटको व्यवस्था भइसकेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा निवर्तमान मन्त्री श्रीपालीले खेलकुद र खेलाडी जगतका लागि ऐतिहासिक कार्यको प्रारम्भ भएको बताउदै खेलकुद अस्पताल निर्माण सम्पन्न गर्नु आफ्नो लक्ष्य रहेको बताए । उनले खेलकुद अस्पताल निर्माण सम्पन्न गर्नु सामान्य नभएपनि असम्भव पनि नभएको विचार व्यक्त गरे । राखेपका उपाध्यक्ष शेर्पाले खेलकुद अस्पतालका लागि आवश्यक पर्ने साधन र विज्ञका विषयमा पनि ध्यान दिनु पर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले खेलकुद अस्पतालको सिलान्यास सस्तो लोकप्रियता र प्रचारवाजीका लागि नभइ खेलाडी र खेलकर्मीको सुविधालाई ध्यानमा राखि निर्माण गर्न लागिएको बताए । उनले नयाँ आर्थिक वर्षको बजेटमा समेत परिसकेकोले निर्माण कार्यको प्रकृया अगाडि बढ्दै जाँदा अर्थ मन्त्रालयबाट थप बजेट निकासा बताए । सदस्य–सचिव विष्टले निवर्तमान मन्त्री श्रीपालीको विशेष पहलमा अस्पताल निर्माण कार्यलाई अगाडि बढाउन सफल भएको बताउदै लनटेनिसको पूर्वाधारलाई असर नपर्ने गरी अस्पताल निर्माण गरिने बताए ।