जुनियर टेनिस जारी
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनशिप अन्तर्गत बुधबार भएको खेलमा अभिलाषा विष्ट र बिभिशा श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित लन टेनिस कोर्टमा खेलिएको गल्र्स सिंगल्स अन्तर्गत अन्डर–१८ उमेर समूहको सेमिफाइनलमा अभिलाषा विष्टले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले तथा बिभिशा श्रेष्ठले स्नेहा यादवलाई ६–२, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । सोही उमेर समूहको पुरुषतर्फको क्वाटरफाइनलमा कौस्तुभ पाण्डेले श्रेयाश अग्रवाललाई तथा आदित सुवेदीले पनि अभिनव आचार्यलाई समान ६–०, ६–२ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन् ।
यसैगरी अन्डर–९ उमेर समूहमा प्रसंशा मोक्तान र सुनिरा थापा पनि फाइनलमा प्रवेश गरेका छन् । प्रसंशाले आद्या लोहा पौड्याललाई ४–०, ५–४ र सुनिराले नला मास्केलाई ४–०, ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । यसै उमेर समूहको ब्वाईज तर्फको क्वाटरफाइनलमा शिभेन महर्जनले निशाद जोशीलाई ४–२, ४–१ ले हराए । यस्तै अन्डर–१० उमेर समूहको ब्वाईज क्वाटरफाइनलमा आरभ हाडा, आयुष्मान घले, सरोज लामा र प्रणव मानन्धर पनि विजयी भएका छन् ।
यस्तै अन्डर–१२ अन्तर्गत भएको ब्वाइज क्वाटरफाइनलमा आर्यन गिरी, निश्चल अधिकारी र आदित्य सुवेदीले जित दर्ता गरेका छन् । यस्तै अन्डर–१४ अन्तर्गत भएको क्वाटरफाइनलमा आदित्य सुवेदी, कुबे चेम्जोंग र आदित सुवेदीले सेमिफाइनलमा स्थान पक्का गरे ।