मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्ड
डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि शनिबार जितेको छ । ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २९३ अंक जोड्दै समग्रमा टिम च्याम्पियनको उपाधि रक्षा ग¥यो । उक्त तीन खेल बाहेक कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक टिम च्याम्पियनमा गणना गरिदैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल २ सय ६४ अंकसाथ दोश्रो भयो । पश्चिमाञ्चलले एथलेटिक्समा १३८, कबड्डीमा ५६ र भलिबलमा ७० अंक ल्यायो । तेश्रो स्थानमा रहेको मध्यपश्चिमाञ्चलले एथलेटिक्समा १७३, कबड्डीमा १४ र भलिबलमा २८ गरी कुल २१५ अंक बटुल्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
गत संस्करणका कीर्तिमानधारी पुरस्कृत ः समापनका अवसरमा राजधानीमै गत वर्ष भएको उक्त प्रतियोगिताको आठौं संस्करणका कीर्तिमानधारीलाई नगदबाट पुरस्कृत गरिएको छ । त्यो वर्ष मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय र ३ हजार मिटर दौड, मध्यपश्चिमाञ्चलकी मन्जु रावतले छात्रा १ हजार ५ सय मिटर दौड, मध्यपश्चिमाञ्चलकै तिलक विकले छात्र सटपुट तथा पश्चिमाञ्चलकी विपना परियारले छात्र ट्रिपलजम्प र लङजम्पमा कीर्तिमान बनाएका थिए । दुई कीर्तिमानका लागि १० हजारका दरले अजित र विपनाले २० हजार रुपैयाँ पाए । बाँकीले जनही १० हजार नगद प्राप्त गरे ।विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । निर्वाचन क्षेत्र, जिल्ला र क्षेत्रीय छनोट पूरा गर्दै आयोजना गरिएको यो केन्द्रीय प्रतियोगितामा समावेश सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १० खेलाडी सहभागी थिए ।