मुकुन्द्र र ज्योति लपु वर्ष कराते खेलाडी

Manoj Shiama
16 July, 2017 12:17 am


जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले करातेका मुकुन्द्र महर्जन र ज्योति गिरी ललितपुर कराते वर्ष खेलाडी– २०७३ अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । मुकुन्द्रले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै बृहत खेलकुदमा स्वर्णको ह्याट्रिक गरेका थिए । ज्योतिले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत मध्यमाञ्चल क्षेत्रीय छनोटमा रजत जितेकी थिइन् ।
त्यस्तै ललितपुरकै अर्का कराते खेलाडी एवं डोजोका प्रशिक्षक विप्लवलाल श्रेष्ठलाई पनि विशेष अवार्डबाट सम्मान गरियो । उनले गत अप्रिलमा थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा कांस्य जितेका थिए ।
डोजोमै आयोजित एक कार्यक्रमबीच तीनैलाई जनही १० हजार र सम्मान पत्र प्रदान गरियो । सोही अवसरमा डोजोका सहयोगी संस्था र व्यक्तिलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
ललितपुर जिल्ला कांग्रेसका सभापति समेत रहेका सांसद् मदनबहादुर अमात्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, डोजोका अध्यक्ष एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरे ।
सो अवसरमा सांसद् अमात्यले भूकम्पबाट क्षति पुगेको डोजोको पुनर्निमार्णका लागि संसदीय कोषबाट १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।