नवीन र अनिशलाई स्वर्ण

 काभ्रेका नवीन श्रेष्ठ र काठमाडौंका अनिश नेपालीले सातौं राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको पहिलो दिन आइतबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ११–१२ वर्षको फाइनलमा नवीनले काठमाडौंका कृष्ण तामाङलाई पराजित गरे । भक्तपुरका अर्जुन पुन मगर र रविन तामाङ संयुक्त रुपमा तेश्रो भए ।त्यस्तै पुरुष कुमुतेको ९–१० वर्ष फाइनलमा अनिशले सिन्धुपाल्चोकका गगनप्रसाद चौलागाईंलाई हराए । भक्तपुरका विशाल तामाङ र काठमाडौका प्रतीक कुँवर तेश्रो बने ।नेपाल गोजुरियो कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर महिला एकल कातामा  सिन्धुपाल्चोककी वर्षा गिरीले बाग्लुङकी एलिशा थापा तथा बाग्लुङकी अन्जली रुचालले सिन्धुपाल्चोककी रिता लामालाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । सोही स्पर्धाको जुनियर पुरुषमा काठमाडौंका लाक्पा दोर्जे घलानले सिन्धुपाल्चोकका छिरिङ नेक्तुप लामा तथा बाग्लुङका चिरायु रिजालले काठमाडौंका कृष्ण तामाङलाई हराउदै फाइनलमा प्रवेश गरे ।सिनियर पुरुष एकल कातामा बाग्लुङका अर्जुन खत्री र सिन्धुपाल्चोकका राजु गिरी फाइनलमा पुगे । अर्जुनले सिन्धुपाल्चोकका रामकुमार गिरी तथा राजुले सुर्खेतका भेषजंग शाहीको चुनौती पन्छाए । दुईदिने प्रतियोगितामा २३ जिल्लाका ३ सय ५० खेलाडीले विभिन्न ४८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको गोजुरियो संघका सचिव एवं प्रतियोगिता संयोजक सानुबाबु गिरीले जनाएका छन् ।

Comment