मोर्डन पेन्टाथलन टोली सिंगापुर जाँदै

Manoj Shiama
28 July, 2017 9:26 pm


सिंगापुर मोर्डन पेन्टाथलन संघको निमन्त्रणमा लेसर रन सिटी टुर सिंगापुर– २०१७ मा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली मोर्डन पेन्टाथलन टोली शनिबार सिंगापुर प्रस्थान गर्दैछ ।जुलाई ३० तारिखमा हुने एकदिने प्रतियोगितामा आदर्श कार्की, शेरबहादुर लोहार, सुविराज याखा, क्षितिजराज थापा, सतिजराज थापा, पेमा योञ्जन, तियेन शेर्पा लिम्बू, अनुसिया तण्डुकार र सलोनी लामाले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले विभिन्न उमेरसमूहको दौड र सुटिङमा भाग लिनेछन् ।
टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका नेपाल मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अफिसियलमा राखेअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत ज्ञानेन्द्र श्रेष्ठ, व्यवस्थापकमा राजु दर्शन र प्रशिक्षकमा रचना लाखेमरु कवन रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।