दीक्षालाई स्वर्ण

Manoj Shiama
3 August, 2017 12:00 am

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) की दीक्षा तामाङले नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा दीक्षाले प्राइमकी निकिता कस्तीलाई ११–५ र ११–७ को सोझो सेटमा पराजित गरिन् । महिला टिम स्पर्धामा विजेश्वरीले आरुणीलाई ३–० ले हराउदै स्वर्ण जित्यो ।
स्कुलतर्फ यु–१६ ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली पहिलो भए । उनले फाइनलमा आफ्नै स्कुलका सन्जिव गुरुङको चुनौती १७–१५, ११–५ र ११–७ ले समाप्त पारे । यु–१२ ब्वाइज सिंगल्समा पहिलो बन्न सफल पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका विशाल गोलेलाई १३–११, ६–११, ११–८, ७–११ र ११–८ को सोझो सेटमा पाखा लगाए । यु–१४ ब्वाइज सिंगल्समा प्रोक्सिमाका रेखन तामाङले बाजी मारे । फाइनलमा उनले एभीएमका सुजन बडाललाई १२–१०, ११–१३, १५–१३ र ११–८ ले निराश पारे ।
स्कुलकै ब्वाइज डबल्समा श्रृजना ज्ञान सागरका विकिन पोखरेल र प्रवीण सापकोटाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रिमियरका हिमान्शु सिंह र आर्यमान प्रधानलाई १६–१४ र ११–४ को सोझो सेटमा पन्छाए ।