खेलकुद मन्त्री केसीलाई खेलाडी संघको बधाइ र ध्यानाकर्षण

Manoj Shiama
4 August, 2017 9:53 pm


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीलाई बधाइ दिनुका साथै खेलकुद र खेलाडीको हितका विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडी संघका पदाधिकारीहरुले शुक्रबार खेलकुद मन्त्री केसीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी बधाइ दिनुका साथै ध्यानाकर्षण पत्र पनि बुझाएको हो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्री केसीलाई पत्र बुझाए ।
खेलाडी जीवनपछि आर्थिक कठिनाईबाट गुज्रिनु पर्ने अवस्थालाई न्युनिकरण गर्न खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) को व्यवस्था गर्नु पर्ने, अन्तर्राष्ट्रिय पदक जितेको प्रतियोगितालाई वर्गिकरण गरी नियमित रुपमा कति भत्ताका रुपमा उपलब्ध गराउने हो भन्नेमा व्यापक अध्ययन÷अनुशन्धान गरी नीति बनाउनु पर्ने, नयाँ पुस्तका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकलाई पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बोध गराउन सरकारले नीति ल्याउनु पर्ने तथा स्थानियदेखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी सो परिचय पत्रको आधारमा विभिन्न क्षेत्रमा निश्चित सहुलियतको व्यवस्था गर्नु पर्नेतर्फ मन्त्री केसीलाई ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै खेल जीवनपछि पनि खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाउन नीतिगत पहल गर्नुपर्ने तथा निर्धारित समयमा दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतियोगिता नहुँदा प्रत्येक संस्करणमा एउटा पुस्ता नै पलायन हुने खतरा भएकाले १३ औं सागको तयारी तत्काल सुरु गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो ।
पत्र बुझेपछि मन्त्री केसीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका विषयमा के गर्न सकिन्छ भन्नेमा खेलाडी र सरोकारवालासंग बसेर छलफल गर्ने बताउदै संघले दिएको सुझावले केहि त परिवर्तन आयो है भन्ने बोध गराउने प्रतिबद्धता व्यक्त गरे ।