अरहान्त र भावनाद्वारा उपाधि रक्षा

Manoj Shiama
5 August, 2017 11:09 pm


डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर सिम्ह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्यामिपयन बने ।
पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१० र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए ।
महिला सिंगल्सको उपाधि जोगाउन भावनाले फाइनलमा कृष्णा थापालाई ६–११, ११–७, ११–२ र ११–७ को सेटमा हराइन् । भावनाले ११ हजार कृष्णाले ६ हजार नगद पुरस्कार हात पारे ।
जुनियर ब्वाइज यु–१५ सिंगल्समा गोपाल थापाले सलिम थापा मगरलाई ११–२, ८–११, ११–३ र ११–३ को सेटमा फाइनलमा पाखा लगाउदै स्वर्ण चुमे । यसअघि जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोन पहिलो भएका थिए ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा इन्द्रबहादुर कार्की पहिलो भए । उपाधि भिडन्तमा उनले किशोर महर्जनलाई ११–७, ११–३ र ११–५ को सीधा सेटमा पन्छाए । मास्टर्स ४५ देखि ५४ वर्षको पुरुष सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–५, ११–६ र ११–४ ले पराजित गर्दै पहिलो बने । पुरुष सिंगल्सको प्लेटमा आकाश सुनवारले बाजी मारे । उनले फाइनलमा रत्नकाजी शाक्यमाथि ११–१३, १२–१०, ११–८, ११–१३ र ११–५ को जित निकाले ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । नेपाल स्क्वास ¥याकेट्स संघले आफ्ना अध्यक्ष किशोर महर्जनका माता धनलक्ष्मीको स्मृतिमा आयोजना गरेको छदिने प्रतियोगितामा ८५ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ८१ हजार रुपैयाँ रहेको थियो । भेट्रान र प्लेटमा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।