पुलिस मनकामना केबलकार पोखरा कपको फाइनलमा

Manoj Shiama
14 January, 2015 9:53 pm

police final
प्रेमनारायण न्यौपाने
पोखरा
साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै विभागीय टीम नेपाल पुलिस क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। पहिलो र दोस्रो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको पुलिस तेस्रो संस्करणमा भने सहभागी थिएन।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मनाङमस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्यो । पुलिसको जीतमा म्यान अफ दी म्याच भरत शाह र कप्तान जुमनु राईले एक–एक गोल गरेका थिए।मनाङको तर्फबाट कप्तान अनिल गुरुङले सात्वना गोल गरेका थिए। तीनै गोल पहिलो हाफको १९ मिनेटभित्र भएका थिए। पोखरा कपको दोस्रो र तेस्रो संस्करण जितेर ह्याट्रिक गर्ने दाउमा रहेको मनाङले पुलिसविरुद्ध स्तरीय खेल प्रदर्शन गर्न सकेन।
खेल सुरु भएको चार मिनेटमै पुलिसले भरत शाहको गोल मार्फत अग्रता लिएको थियो। जारी प्रतियोगितामै सबैभन्दा छिटो भएको यो गोलमा भरतले कप्तान जुमनु राईको पासमा गरेका थिए। पहिलो १५ मिनेटभित्र गोल गर्ने रणनीति अपनाएर मैदन प्रवेश गरेको पुलिसका लागि जुमनुले हेडमार्फत मिलाएको बललाई भरतले मनाङका डिफेण्डर हेम गुरुङलाई विट गर्दै सेकेण्डबारमा जाली चुमाएका थिए।
पुलिसको त्यो खुसी १२ मिनेट पनि टिक्न सकेन। १२ औ मिनेटमा अनिल गुरुङले मनाङको लागि बराबरी गोल गरे।विशाल राईको कर्नरमा अनिले हेडिङ गरेको बल गोलकिपर र डिफेण्डरलाई जिल्याउँदै घुमेर जाली प्रवेश गरेको थियो। योसँगै व्यक्तिगत तीन गोल गरेका अनिल सर्वाधिक गोलकर्ताको सूचीमा रहेका छन्।
अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको सो खेलमा मनाङले बराबरी गोल फर्काएको तीन मिनेटमै पुलिसले पुनः दोस्रो गोल फर्काउँदै पोखरा रड्डशालामा खचाखच भरिएका मनाङका Çयानलाई आश्चर्यमा पारिदियो। भरत शाहको पासलाई सदुपयोग गर्दै डिबक्सभित्र छिराएका जुमनुले विपक्षी डिफेण्डर विराज महर्जनलाई विट गरेर सिक्सयार्ड बक्स नजिकैबाट फस्ट बारमै प्रहार गर्दै गोल गरे । मनाङका गोलकिपर र डिफेण्डर विराज महर्जनसँग पालैपालो ठोकिएपछि छातीमा समस्या भएर पुलिसका कप्तान जुमनु राई ३३ मिनेटमा मैदानबाट बाहिरिएका थिए। उनलाई तत्काल सशस्त्रप्रहरी बल कालिका गणको एम्बुलेन्समार्फत हस्पिटल लगिएको थियो।
४४ मिनेटमा पुलिसले अर्को गोल थप्ने अवसर पाएको थियो।भोला सिलवालले मनाङका डिफेण्डर हेम गुरुङलाई विट गरेर डिबकसभित्र लगेको बललाई मनाङका अर्का डिफेण्डर कृष्ण कुँवरले क्लियर गर्दै असफल पारिदिएर मनाङको ठूलो संकट टारे।दोस्रो हाफमा मनाङ केही एग्रसिभ देखियो तर पुलिसको रणनीतिले विफल पारिदियो।४९ मिनेटमा डिबक्सभित्रबाट हानेको डोडोजको क्वीक भलिसुट क्रसबारमाथिबाट बाहिरियो।
५१ मिनेटमा सुजल श्रेष्ठको पासमा अनिल गुरुङले डिबक्सभित्रबाट गरेको वान टच प्रहार फस्टबार हुँदै बाहिरियो। ६७ मिनेटमा सब्स्टिच्युट दीपक राईको फ्रिकिकलाई पुलिसका गोलकिपर रितेश थापाले गोललाइनबाट पञ्च गरेर विफल पारिदिए। ८५ मिनेटमा सब्स्टिच्युट हरि कठायत र ८० मिनेटमा भोला सिलवालको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले डाइभ हानेर बचाए। ८३ मिनेटमा पुलिसक दीपेन श्रेष्ठलाई ट्याकल हानेर लडाएपछि हेम गुरुङले डबल एलो (रेड) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मनाङ बाँकी समय १० खेलाडीमा सीमित भयो। हेमले ५२ मिनेटमा पहिलो एलोकार्ड खाएका थिए। त्यसपछि थप दबाबमा परेको मनाङले विपक्षी पोस्टमा लगातार आक्रमण गरे पनि पुलिसको डिफेन्सलाइन क्रस गर्न सकेन। सो पुलिसका सुमन सुवेदीलाई फिफा रफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए।
हारपछि मनाङका प्रशिक्षक नवीन न्यौपानेले डिफेण्डरको कम्बिनेशन नमिल्दा पहिलो र सेन्टरव्याकको कमजोरीमा दोस्रो गोल खाएको बताए।उनले सेकेण्ड हाफमा पाएको अबसरलाई उपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको प्रतिक्रिया दिए।पुलिस रहाम्रो म्याच जहिले पनि कम्पिटीशन हुन्छ, फस्ट हाफमा दुई गोल खाए पनि सेकेण्ड हाफमा गोल गर्ने चान्स पाएका थियौं तर युटिलाइज हुन सकेन, आज पुलिसले राम्रो खेल्यो’–प्रशिक्षक न्यौपानेको भनाइ थियो।
जीतपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पुलिसको रणनीति सफल भएको बताए। उनले भने–‘फस्ट हाफको १५ मिनेटभित्र एग्रेसिभ खेल्ने र गोल गर्ने, केही समय ब्याक हुने र पुनः एग्रेसिभ खेल्दै गोल गर्ने रणनीति थियो, त्यो पूरा भयो।’ उनले सेकेण्ड हाफमा मनाङलाई पुलिसले एकतिहाई त्यो पनि साइडमा मात्र खेल्न दिएको दाबी गरे। उनले फाइनलमा थ्रीस्टार भन्दा एपीएफसँग केही सजिलो हुने बताएर प्रशिक्षण श्रेष्ठले जुमनुको छातीमा समस्या देखिएको र फाइनलमा खेल्ने नखेल्नेबारे बिहीबार मात्र भन्न सकिने बताए।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
यसैबीच मड्डलबार आयोजक पोखरा–११ ले थ्रीस्टारका विदेशी खेलाडीविरुद्ध हालेको प्रोटेस्ट बदर भएको कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ। बिहीबार गत वर्षको उपविजेता टीम थ्रीस्टार क्लब र नेपाल एपीएफ क्लबबीच दोस्रोे सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।