इन्टामा लामाको नेतृत्वको निरन्तरता, बाढी पिडितलाई सहयोग गर्ने निर्णय
इन्टरनेसनल नेप्लीज तेक्वान्दो एसोसीएसन( इन्टा) को साधारण सभा अमेरिकाको पोर्टल्यान्ड ओरीगीनमा सम्पन्न भयो । नेपाल तेक्वान्दो संघका सदस्य एबं कीर्तिमानधारी तेक्वान्दो खेलाडी दिपक विष्टको बिशेष आतीथ्यमा भएको साधारण सभाले ओलम्पियन विधान लामाको नेतृत्वलाई निरन्तरता दिएको छ । सन् १९८६ को सोल ओलम्पिकका प्रदर्शनी खेलका पदकधारी लामाको नेतृत्वमै एसोसीएसनले आगामी कार्यकालको निती र कार्यक्रम समेत तय गरेको छ । साधारण सभाले सन् १९९८ को बैंकक एसियाडकी रजत पदकधारी तथा आठौ सागकी स्वर्ण पदक विजेता कीर्तिमानी खेलाडी सविता राजभण्डारीलाई प्रथम उपाध्यक्ष चयन गरेको छ । सोही एसियाडकी पदक विजेता सपना मल्लको साथमा अच्युत बास्कोटा र आठौ साग खेलकुदका स्वर्ण विजेता कमल क्षेत्री उपाध्यक्ष चयन भए ।
सन् १९९२ को बार्सीलोना ओलम्पिकका सहभागि नारायण गुरुंग महासचिवमा चयन भए भने नवौ साग खेलकुदका स्वर्ण विजेता निर्मल श्रेष्ठ सह महासचिव चयन भए । बैंकक एसियाडका पदक विजेता तथा आठौ सागका स्वर्ण पदकधारी किशोर श्रेष्ठलाई साधारण सभाले कोशाध्यक्षमा चयन गरेको छ । आठौ सागकी स्वर्ण विजेता तथा सन् २००२ को बुसान एसियाडकी पदकधारी रेणुका मगर र सोही सफलता पाएकी रितु जिमी राइ सदस्य भए । आठौ सागका स्वर्ण पदकविजेता बन्दना श्रेष्ठ र नवौ सागका स्वर्ण विजेता निरञ्जन श्रेष्ठ पनि सदस्य भए । अन्तराष्ट्रिय खेलाडी पासांग लामाको साथमा १० औ सागकी पदकविजेता पद्मा गुरुङ,कोरियन ओपनकी पदक विजेता निमा राइ,पूर्व राष्ट्रिय च्याम्पियन तथा अन्तराष्ट्रिय खेलाडी पुष्प थामा मगर र अन्तराष्ट्रिय खेलाडी कल्पना क्षेत्री सदस्य भएको अमेरिकाबाट दिपक विष्टले जानकारी दिएका छन् ।
नवगठित कार्य समितीको पहिलो बैठकले नेपालका बाढी पिडितलाई २ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ । साथै इन्टाकै सहयोगमा आयोजना हुदै आएको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसीप बिश्व तेक्वान्दो महोसंघ( डब्लुटीफ) को अफसीयल जिवान प्रतियोगिता बनेकोमा खुसी ब्यक्त गरेको छ । आगामी दिनमा पनि यस प्रतियोगितालाई सहयोग गर्ने र तेक्वान्दोको विकासमा नेपाल तेक्वान्दो संघसंग सहकार्य गर्ने निर्णय इन्टा कार्यसमिती बैठकले गरेको छ । साथै बैठकले साधारण सभामा उपश्थित विष्टलाई बिशेष धन्यबाद ज्ञापन गरेको छ ।