सडक बालबालिकाको लिग फुटबल हुने


सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् ।
लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ । लिगका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्व कप फुटबलमा सहभागि गराइने आयोजकले जनाएको छ । विश्व कप सेभेन ए साइडको हुनेछ । लिगका खेल ३० मिनेटको हुनेछ ।
विश्व कपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ । जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र टिममा मात्र भाग लिनेछ । अगामी विश्व कपमा नेपालको छात्रा टिमलाई पनि सहभागी गराईने ओलीले बताईन् । लिगबाट सुरुमा १८ जना खेलाडी छनोट गरी एक महिना विश्व कपको प्रशिक्षण क्याम्पमा राखिनेछ । प्रशिक्षण क्याम्पबाट उत्कृष्ट ९ जनालाई विश्व कपको अन्तिम टिममा समावेश गरिनेछ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुुलाधरले नेपालका सडक बालबालिकालाई विश्वकप खेल्ने मौका मिल्नु गौरवकको कुरा भएको बताए । उनले एन्फाले आफ्नो समाजिक उत्तर दायित्व अन्तर्गत लिगलाई सहयोग गर्न लागेको पनि बताए ।
यस विश्व कपको नारा हरेक अनाथ, असहाय तथा सडक बालबालिकाले जन्म दर्ताको अधिकार पाउनु पर्छ भन्ने छ । यो नारा संयुक्त राष्ट्र संघले अगाडी सारेको नारा पनि हो ।

 

Comment