लोकतान्त्रीकले दियो मन्त्रीलाई बधाई तथा शुभकामना

Manoj Shiama
3 September, 2017 7:05 pm


नेपाल लोकतान्त्रीक खेलकुद संघले राजेन्द्र कुमार के.सी. (राजन)लाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएकोमा सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरेको छ । नेपाली काँग्रेसले लामो समय देखि उपेक्षा गरिरहेको खेलकुदलाई महत्व प्रदान गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो रोजाईमा राख्दै के.सी.लाई मन्त्रीमा नियुक्त गरेको हो ।
बधाई तथा शुभकामना कार्यक्रममा संघले आफ्ना केन्द्रिय सदस्य सरोज मुल्मी वडा नं. ११ को वडा सदस्यमा तथा रञ्जन थापा, सरस्वती भण्डारी र फणिन्द्र पौडेल राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको केन्द्रिय समितीमा विजयी हुन सफल भएकोमा उनीहरुलाई समेत सफल कार्यकालको लागि बधाई तथा शुभकामना प्रदान गरेको थियो । रञ्जन अध्यक्ष, सरस्वती महिला उपाध्यक्ष तथा फणीन्द्र महासचिवमा निर्वाचीत भएका हुन् ।
बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री के.सी.ले अन्य पार्टिहरुले खेलकुद संघ गठन गरेर खेलकुदमा जग बसाली सकेपछि मात्र ढिलो गरेर नेपाली काँग्रेसले खेलकुद संघ बनाएको बताए । त्यसमा पनि आपसी मतभेदका कारण संघ खेलकुद विकास, खेलाडी बिकास र पार्टि संगठनमा लाग्नु पर्नेमा स्थापनाको लामो समय सम्म पनि पचहत्तरै जिल्लामा संघ गठन गर्न नसेको भन्दै आपसी मतभेद भुलेर खेलकुद तथा खेलाडी विकास र संगठनमा लाग्न सवैमा अनुरोध गरे । “संगठन कमजोर भएमा सवै क्षेत्र कमजोर हुन्छ, मलाई सहयोग गर्नुस खेलकुदमा आमुल परिवर्तन गरेर देखाई दिन्छु” मन्त्री केसीले भने । मन्त्री के.सी.ले खेलाडी र खेलकुद विकासको लागि युवा तथा खेलकुद मन्त्रालय सदा साथ रहेने समेत बताए ।
सो अवसरमा संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले लामो समय पश्चात काँग्रेसले युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो भागमा लिएर खेलकुदको मर्म बुझेको भन्दै यसले खेलकुद सम्वद्धहरुमा नयाँ रक्त सञ्चार भएको बताए । उनले अव खेलकुदको क्षेत्रमा आमुल परिवर्तनको आशा पलाएको र मन्त्रीज्यूबाट त्यसको प्रत्याभुती हुने कार्य गरिनेमा आफु विश्वस्त रहेको बताए ।