खेलकुद राष्ट्रिय प्रतिभा सम्मानबाट ८ खेलाडी सम्मानित
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ । खेलाडीसहित २ प्रशिक्षक र १ राष्ट्रिय खेल संघलाई पनि नगदसहित सम्मान गरियो । सम्मानित हुने खेलाडीमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङशल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली रहेका छन् । भलिबलका दुवै खेलाडीले समान ५०–५० हजार तथा बाँकीले जनही १ लाखसहित सम्मान पत्र पाए ।
सम्मानित प्रशिक्षक ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले जनही १ लाख रुपैयाँसहित सम्मान पत्र पाए । उत्कृष्ट खेल संघका रुपमा सम्मान गरिएको नेपाल भारोत्तोलन संघलाई पनि १ लाख दिइयो । उत्कृष्ट प्रायोजकका रुपमा एसियन थाइ फुड प्रा.लि. महेशकुमार जाजु र सिटिजन्स बैंकलाई सम्मान पत्र प्रदान गरी सम्मान गरियो । अखिल नेपाल लनटेनिस संघ र नेपाल ब्याडमिन्टन संघलाई सम्मान पत्रबाट सम्मान गरियो ।