रविन र सफिलाई स्वर्ण

Manoj Shiama
16 January, 2015 7:30 pm

शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी रनिङ्ग शिल्ड व्याडमिन्टन प्रतियोगिताको मा.बि.स्तरिय १६ बर्ष मुनिको एकल खेलमा ब्वाईज तर्फ प्रभात ई. उमाबिका रविन शाही र गल्र्स तर्फ हिमालयन ग्लोरीकी सफि खत्रीले स्वर्ण पदक प्राप्त गरेका छन् ।
शुक्रबार सम्पन्न ब्वाईजको फाइनलमा रविनले आफ्नै स्कुलका विजन बासुकलालाई २१–१७ र २१–८ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । यस्तै गल्र्समा सोफिले आफ्नै स्कुलकी रमा माताङलाई २१–६ र २१–८ले पराजित गर्दै स्वर्ण पाईन् ।
व्यासी व्याडमिन्टन क्लबको स्थापना दिवसको अवसरमा आयोजित पुरुष टिम ईभेन्ट्सको सेमिफाइनल खेलमा भक्तपुर व्याडमिन्टन क्लब आयोजक व्यासी व्याडमिन्टन क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा श्रीभक्त व्याडमिन्टन क्लब संग प्रतिस्पर्धा गर्ने भएकोछ । श्रीभक्तले स्वीट संगम क्लबलाई २–१ सेटले पराजित गर्दै फाइनलमा स्थान बनाएकोहो ।
शुक्रबारनै सम्पन्न भेट्रान्स डबल्स तर्फको सेमिफाइनल खेलमा श्रीभक्त ब्याडमिन्टन क्लबका कपिल शिल्पकार र मदन गुरुङ्गको जोडीले सोही क्लबका शुभाष कमाचार्य र दत्तात्रय दाहालको जोडीलाई २१–१६ र २१–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । यस्तै अर्को खेलमा श्रीभक्तकै सानुबाबु महर्जन र नरेश ताम्राकारको जोडीले पवित्र  हलेसीका नारायण प्रसाद चौहान र तिर्थ धितालको जोडीलाई २१–१७ र २१–१०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे ।
विगत तीन बर्ष देखि संचानल गर्दै आईरहेको प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं संविधान सभाका सभासद् नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा शनिबार बिहान ९ बजे हुने कार्यक्रम रहेकोछ ।