प्रणय मिस्टर काठमाडौं

Manoj Shiama
9 September, 2017 10:28 pm


जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका छन् । ५५ केजीमा मसल्स मेनियाका अवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेसका रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार र ७० केजीमा मसल्स एन्ड फिट्नेसका अमितकुमार मण्डल पहिलो भएका थिए । अमितले बेस्ट पोजरको उपाधि पनि हात पारे ।
प्रणयले मिस्टर काठमाडौंका लागि १ लाख र तौलसमूहमा पहिलो भए वापत छुट्टै नगद १० हजार पुरस्कार हात पारे । अन्य तौलसमूहमा पहिलो हुने पनि १० हजार नगद पुरस्कार हात पारे । दोश्रोले ५ र तेश्रोले ३ हजार नगद हात पारे । मिस्टर काठमाडौंमा ८१ प्रतिस्पर्धी सहभागी थिए ।
दोश्रो महिला एथलेटिक्स फिजिक्समा नेपाल व्यायाम मन्दिरकी रजनी श्रेष्ठ पहिलो भइन् । मसल्स वल्र्डकी शोभा मानन्धर दोश्रो र सेप्स टु फिट्नेस एन्ड जिमकी सन्ध्या श्रेष्ठ तेश्रो भए । ११ प्रतिस्पर्धी सहभागी महिलाको विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए ।
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत प्रथम जुनियर मिस्टर काठमाडौंको उपाधि फिट्नेस फस्ट जिमका दामोदर श्रेष्ठले जिते । न्यु बुल्स जिमका जोन भण्डारी दोश्रो तथा फ्लेक्स जिमका सुजन गुरुङ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । यु–२१ उमेरसमूहको प्रतिस्पर्धामा २१ खेलाडी सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार वितरण गरे ।