एपेक्स फुटसल आइतबारदेखि
एपेक्स लाइफ स्कुलको आयोजनामा दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १३ ब्वाइज टिमको सहभागिता रहने एपेक्सका ईसीए इन्चार्ज प्रेमसुन्दर होनाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
तल्लो तहदेखि नै फुटसलको विकास गर्ने र उमेरसमूहका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको सुरुआत गरिएको एपेक्सका संस्थापक निर्देशक सुवास न्यौपानेले बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुनेछ । पहिलो संस्करणमा विद्या संस्कारले संस्कृतिलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । साताव्यापी प्रतियोगिताका खेलहरु चावहिलको सरस्वतीनगरस्थित आयोजककै हातामा हुनेछ । एपेक्स र सिद्धार्थ बनस्थलीबीचको उद्घाटन खेलसंगै पहिलो दिन चार खेल हुनेछ ।