पुलिसलाई मनकामना केबलकार पोखरा कप, थ्रीस्टार सडन डेथमा पराजित

Manoj Shiama
17 January, 2015 10:41 pm

police win title
प्रेमनारायण न्यौपाने
पोखरा
गत वर्षको उपविजेता थ्रीस्टार क्लबलाई सडन डेथमा ४–३ ले हराउँदै विभागीय टीम नेपाल पुलिस क्लबले पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ हात पारेको छ।पोखरामा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका दुवै टीमले निर्धारित तथा अतिरिक्त समय एक–एक गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरमा पुगेर टुड्डिएको थियो।
जीतसँगै पुलिसले नगद तीन लाख ५५ हजार, शिल्ड,मेडल रप्रमाणपत्र प्राप्त ग¥यो भने लगातार दोस्रोपटिक पनि उपविजेतामा सीमित बनेको थ्रीस्टारले नगद दुई लाख एक हजारमा चित्त बुझायो।
टाइब्रेकरमा पाँच–पाँच खेलाडी सहभागी भएकोमा दुवैतर्फ तीन–तीन गोलको बराबरी भएपछि सडन डेथमा थ्रीस्टारका गोलकिपर किरण चेम्जोङको अन्तिम प्रहार पुलिसका रितेश थापाले पञ्च गर्दै फालेपछि अजीत भण्डारीले पुलिसको लागि हानेको अन्तिम प्रहार नै निर्णायक बनेको थियो। टाइब्रेकरमा पुलिसका निरकुमार राई, सुमन सुवेदी र दीपेन श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो भने योगेश श्रेष्ठको तेस्रो प्रहार सेकेण्डबार हुँदै बाहिरियो भने भोला सिलवालको प्रहार पाँचौं प्रहार थ्रीस्टारका गोलकिपर किरणले बचाए ।
यस्तै थ्रीस्टारका सन्तोष साहुखल, विक्रम लामा र निराजन खड्काको प्रहार गोलमा परिणत भएको थियो। जगजीत श्रेष्ठको चौथो प्रहार क्रसबारमा ठोकिएर बाहिरियो भने विजय गुरुङको पाँचौं प्रहार सेकेण्डबार हुँदै बाहिरियो।
यसअघि पुलिसले पहिलो हाफमा थ्रीस्टारविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसकेपछि गोलको लागि दर्शले दोस्रो हाफ कुर्नुपरेको थियो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टारका लागि ४९ मिनेटमा विक्रम लामाले हेड गोल गर्दै टीमलाई अग्रता दिलाए। पुलिसका सुमन सुवेदीले थ्रीस्टारका एल्बीसलाई लडाएपछि करिब ४४ यार्डबाट हानेको जगजीत श्रेष्ठको फ्रिकिकलाई डिबक्सभित्र जम्प गरेका विक्रमले गोल गरेका थिए। ५४ मिनेटमा थ्रीस्टारले दोस्रो गोल गर्ने अवसरम क्रसबार बाधक बन्यो। सन्तोष साहुखलले पुलिसका दुई जना डिफण्डर विट गर्दै सिक्सयार्ड नजिकैबाट हानेको बल क्रसबारमा लागेर फर्किएको थियो।
तर अन्तिम छ मिनेट सम्हालिन नसक्दा थ्रीस्टारले बराबरी गोल खायो।८४ मिनेटमा पुलिसका लागि भोलानाथ सिलवालले बराबरी गोल फर्काए। दीपेन श्रेष्ठको क्रसमा भोलाले डिबक्सभित्रबाट फस्ट बारमा हानेको बलले गोलकिपर किरणलाई जिल्याउँदै जाली चुमेको थियो।
प्रतियोगितामा पुलिसका भोलानाथ सिलवाल बेस्ट प्लयेर घोषित हुँदै यामाहा मोटरसाइकल प्राप्त गरे। यस्तै पुलिसकै रितेश थापा बेस्ट गोलकिपर, पुलिसकै विराटकृष्ण श्रेष्ठ बेस्ट कोच, एपीएफका हेमन गुरुङ बेस्ट मिडफिल्डर, पुलिसका दीपेन श्रेष्ठ बेस्ट डिफेण्डर घोषित भए। उनीहरू सबैले जनही १५ हजार पुरस्कार प्राप्त गरे। बेस्ट डिफेण्डर घोषित हुने पुलिसका दीपेन श्रेष्ठ मिडफिल्डर हुन्।
हारपछि थ्रीस्टबारका प्रशिक्षक अन्जन केसीले अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा गोल हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। उनले फस्ट हाफमा राम्रो नखेले पनि सेकेण्ड हाफमा राम्रो खेलेको दाबी गरे। जीतपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले फस्ट हाफमा बल पोसेसन नमिल्दा स्कोर निस्कन नसकेको बताए। उनले खेलाडीहरूमा कि पास नदिने, कि ठाउँमा नजाने गर्दा समस्या देखिएको भन्दै फ्रिकिकमार्फत गोल खाएपछि विपक्षी टीम प्रेसरमा परेकोले फाइदा उठाएको बताए।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि एवं मुख्य प्रायोजक मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एन्फाका उपाध्यक्ष कर्मछिरी शेर्पा, उपमहासचिव गणेशबहादुर भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछाने, निवर्तमान अध्यक्ष गोपी भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्त लामा, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र  नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने लगायतले पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रमुख अतिथि राजुबाबु श्रेष्ठले नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान मणिकुमार शाहको उपचारको लागि मनकामना दर्शन प्रालिको तर्फबाट दुई लाख सहयोग प्रदान गर्ने घोषणा गरे। यस्तै कार्यक्रममा पूर्व फुटबल खेलाडी मणिकुमार शाह, सुकबहादुर गुरुङ, डम्बरमान माकाजू र लोकबहादुर रञ्जितलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजन पौडेलले गरेका थिए।
पुस २२ गतदेखि सञ्चालित प्रतियोगितामा नेपाल र हङकङका गरी १२ टीमको सहभागिता रहेको थियो। तस्विर सौजन्य ः उमेश पुन