कर्मचारी संघद्वारा अवकास प्राप्त कर्मचारी सम्मानित

Manoj Shiama
14 November, 2017 7:14 am


राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले अनिवार्य अवकास पाएका राखेपका कर्मचारीलाई सोमबार सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण २०७३ साल कात्तिकदेखि २०७४ साल कात्तिकसम्म अनिवार्य अवकास पाएका १५ प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा कुस्तीका विद्यासागर पोखरेल, भारोत्तोलनका तिलकबहादुर राउत, कबड्डीका रतिया राजवंशी, क्रिकेटका अरुणकुमार अर्याल, लेखा अधिकृत बालेश्वर ठाकुर, फुटबलमा खेलाडीका रुपमा २ र प्रशिक्षकका रुपमा १ पटक नेपाललाई सागको फुटबलमा स्वर्ण दिलाएका राजुकाजी शाक्य, करातेका पाल्छाङ हेन्जन, ह्यान्डबलका जीवन बस्नेत, भलिबलका लालबहादुर मल्ल, नासु सूर्यबहादुर श्रेष्ठ, जिम्न्याष्टिकका मिलन भुजु, करातेका अक्बर शाह, स्टोर किपर सेर्वोले जिरेल, करातेका महेशकुमार श्रेष्ठ र एथलेटिक्सका मनोहर दाहाल छन् ।
सोही अवसरमा राखेपले राखेपअन्तर्गत सामान्य प्रशासन शाखाकी लेखापाल गीता ज्ञवालीलाई परिषद् सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो । ज्ञवालीलाई सम्मान पत्र र नगद १० हजारसहित सम्मान गरियो । राखेप कर्मचारी संघको अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्मानसहित बिदाइ गरिएको थियो ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र राखेपका कर्मचारी संघका नवनिर्वाचित अध्यक्ष रञ्जन थापाले एक कार्यक्रमबीच सम्मान गरे । त्यसै अवसरमा राखेप कर्मचारी संघका नवनिर्वाचित पदाधिकारीले पनि पदस्थापन गरेका थिए ।