दुर्गालाई नेपालगन्ज म्याराथनको उपाधि


जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए । महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रह्यो । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।
आर्मीकै चन्द्रा रावत (१ घन्टा २८ मिनेट ०६ सेकेन्ड) दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) तेस्रो स्थान हासिल गरिन् ।
म्याराथनमा आर्मीका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपिएफका गणेशसिंह ठकुरी (२ घन्टा २८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका थिए ।दुर्गाले ५५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रोले २५ हजार, तेस्रोले १५ रुपैयाँ प्राप्त गरे । चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाउनेछ । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।
५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए ।
छात्रार्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो, बाँकेका अरविन्द क्षत्री (१८ मिनेट ) तेस्रो भएका थिए ।छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) र सल्यानकी चन्द्रकुमारी घर्ती (२१ मिनेट ५०) तेस्रो स्थान हासिल गरेकी थिइन् । ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएको थियो । उनीहरुले ५, ३, २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सोही अवसरमा आयोजित नृत्यमा नेपालगन्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रा भइन् । विजेताले १०, दोस्राले ७ र तेस्रो हुने ५ हजार रुपैयाँ प्राप्त गरे । सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो ।
क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गरेका थिए ।
विजेतालाई राखेप सदस्य सचिव विष्ट , नेपालगन्ज उप महानगरपालिका मेयर राणा र नेपालगन्ज म्याराथनका संरक्षक विजय लामा लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा पूर्व ओलम्प्यिन रघुराज वन्तलाई सम्मान गरिएको थियो । दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको छ ।
क्रियटिभ ह्याण्ड्स ग्रुपले ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना भएको म्याराथन नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः रंगशालामा पुगेर टुंगिएको थियो ।
आउ‘दो बर्ष आयोजना हुने आठौ राष्ट्रिय खेलकुद् प्रतियोगिताको तयारीमा रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सम्पूर्ण प्राविधिक व्यवस्थापनको संयोजन गरेको थियो । एथलेटिक्स संघ बॉके म्याराथनको सह आयोजकको रुपमा रहेको थियो ।

Comment