भेट्रान टेबलटेनिस टोली गोवा जाने

Manoj Shiama
30 November, 2017 10:27 pm


फोर्जा अन्तर्राष्ट्रिय भेट्रान कप टेबलटेनिस प्रतियोगितामा भाग लिन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको गोवा जाने भएको छ । प्रतियोगिता डिसेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ ।
पुरुष ५० वर्षमाथि धर्ममान वज्राचार्य, नवीनबहादुर शाक्य, कपुर शर्मा पौडेल, प्रज्ज्वलकान्त मैनाली र धर्मरत्न शाही तथा ४० वर्षमाथि नवीनबहादुर सिंह, सन्जिव ढुंगेल र निकेश जोशीले प्रतिस्पर्धा गर्नेछन् । महिला ६० वर्षमाथि रिता मुखर्जीले खेल्नेछिन् । नेपालले सिंगल्स र टिम इभेन्टमा सहभागिता जनाउने छ ।
टोलीको प्रशिक्षकमा ३ पटककी महिला सिंगल्स राष्ट्रिय च्याम्पियन सन्ध्या शाक्य छिन् । टोलीलाई नेपाल एमेच्योर भेट्रान एथलिट संघका अध्यक्ष जीएन दाइ शर्मा, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशी, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले बिहीबार राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा बिदाइ गरे ।