अन्तर्राष्ट्रिय कराते हुने
जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस २१ गतेदेखि काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपाल, जापान, भारत र बंगलादेशका २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्काले जनाएका छन् । दुईदिने प्रतियोगितामा विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताअघि आठौं अन्तर्राष्ट्रिय जापान गोजुरियो कराते डो केन्वाकाइ तालिम तथा सेमिनार पुस १८ देखि २० गतेसम्म हुनेछ । सेमिनारमा पनि प्रतियोगितामै भाग लिने ४ राष्ट्रका १ सय ५० को सहभागिता रहने आयोजकले जनाएको छ ।
सेमिनार सञ्चालन गर्न जापानको टोकियोस्थित गोजुरियो केन्वाकाइ मुख्यालयबाट ग्रान्ड मास्टर हान्सी अकियोताना हासी, सिहान कोजी कनेडा र सिडोयिन फुरोसी इसाइ सोमबार काठमाडौं आइपुगेका छन् । उनीहरुलाई संघका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।