भलिबल प्रतियोगिताको मुख्य प्रायोजकमा थ्रीसिस्टर फाउण्डेशन

Manoj Shiama
24 January, 2015 11:22 am

vdc volleyball
पोखरा
पोखरा लेकसाइडमा रहेको थ्री सिस्टर फाउण्डेशनले गाविसस्तरीय भलिबलको प्रतियोगिताको लागि मुख्य प्रायोजन गर्ने भएको छ।
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा आगामी फागनु १३ गतेदेखि पोखरा रड्डशालामा सञ्चालन हुने वृहत् खेलकुद मेलाअन्तर्गतको गाविसस्तरीय भलिबल प्रतियोगिताको लागि फाउडेशनले तीन वर्षको लागि मुख्य प्रायोजक बन्ने भएको हो।
शुक्रबार एक कायक्रमबीच सम्झौता पत्रकार हस्ताक्षर सम्पन्न भयो। फाउण्डेशनको तर्फबाट लक्की कार्की र कास्की जिल्ला भलिबल सङ्घको तर्फबाट भीम पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।सम्झौताअनुसार फाउण्डेशनले गाविसस्तरीय भलिबल प्रतियोगितालाई प्रत्येक वर्ष एक लाख २० हजार प्रदान गर्नेछ।फाउण्डेशनले महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि सो रकम प्रदान गर्ने भएको हो। आगामी वर्ष महिलाको पनि खेल हुने भलिबल सङ्घले जनाएको छ।

सम्झौतापछि थ्रीसिस्टर ट्रेकिङ एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक लक्की कार्कीले खेलक्षेत्र विशुद्ध राजनीतिक तथा हारजीतमा पनि भाइचारा हुनेहुनाले यसक्षेत्रबाट पुरुषका साथै महिला खेलाडी पनि उत्पादन हुन सकून् भनेर आफूहरूले गाविसस्तरीय भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको बताइन्।उनले आफूहरूको प्रायोजनले गाउँघरमा लुकेर रहेका होनहार खेलाडी बाहिर आउन सकून् र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको प्रतियागितामा आग लिन सकून भन्ने अपेक्षा गरेको बताइन्।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले फाउण्डेशनप्रति आभार प्रकट गर्दै गाविसस्तरीय भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन पाएसँगै आफूहरूमा जिम्मेबारी थपिएको महसुस गरेको बताए।उनले प्रायोजकबाट प्राप्त रकमलाई भलिबल ट्रेनिङ सेन्टरको लागि खर्च गरिने जानकारी दिए।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले राज्यले खेलकुदमा लगानी गर्न कञ्जुस्याईं गरेको अवस्थामा निजी संस्थाहरू अगाडि सर्नु खेलक्षेत्रको लागि सुखद् कुरा भएको बताए।उनले फाउण्डेशनले भलिबल खेललाई प्रायोजन गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले गाविसस्तरीय भलिबल प्रतियोगितामा लाग्ने खर्च जिल्ला खेलकुद विकास समितिले बेहोर्ने भन्दै मुख्य प्रायोजनबापतको सम्पूर्ण रकम जिल्ला भलिबल सङ्घले भलिबल खेल विकासको लागि आफ्नै किसिमले खर्च गर्न सक्ने बताए।उनले भलिबल खेललाई थप आकर्षक बनाउन अघिल्लो वर्षको तुलनामा यसपटकदेखि पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको जानकारी दिए। जसअनुसार विजेता टीमलाई नगद ६० हजार तथा उपविजेता टीमलाई नगद ४० हजार, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
उनले गत वर्ष ३६ वटा गाविस सहभागी भएको भन्दै यसपटक धेरै गाविस नगरपालिकामा गाभिएको हुँदा सहभागीको सङ्ख्या घट्न सक्ने जानकारी दिए। उनले वडाको पनि सहभागिता हुन सक्नेगरी खेलकुद निर्देशिकामै आगामी वर्षदेखि वडा÷गाविसस्तरीय प्रतियोगिता भनेर संशोधन गरिने तयारी भएको बताए।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए।
तस्विर ः उमेश पुन