अन्तर क्लब भारोत्तोलन चैत अन्तिमसाता
प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक “अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” चैत २८ र २९ गते आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको मुख्य उद्धेश्य भनेको युवाहरुमा पावर गेम प्रतिको आकर्षणलाई ध्यान दिंदै देशको विभिन्न स्थानिय स्ततरका जिम, क्लबहरुमा पनि भारोत्तोलन खेलको प्रशिक्षण गराउँदै यस खेलको विकास र विस्तारका साथै खेलाडीहरुको संख्यात्मक र गुणात्मक संख्यामा अभिबृद्धि गर्नुका साथै प्रतिभावान, क्षमतावान खेलाडीहरुलाई यस प्रतियोगिता मार्फत उजागार गराई राष्ट्रिय टिममा समावेश गर्नु रहेको संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराए ।१८औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनौट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने छ ।
प्रतियोगितामा सिनियर तर्फका उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी र जुनियर तर्फ उदियमान खेलाडीलाई पुरस्कृत गरिने छ । यस्तै नयाँ किर्तिमान कायम गर्ने खेलाडीहरुलाई नगद पुरस्कारबट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए । नगद पुरस्कार आर्थिक संकलनको आधारमा गरिने समेत अध्यक्षले जानकारी गराए । प्रतियोगितालाई अशोक फिटनेश ईक्विपमेण्ट, बानेश्वर र स्पेक्ट्रम मर्कन्डाईजले मुख्य प्रायोजन गर्ने भएको छ । बाहिरबाट आउने खेलाडीहरुका लागि खाने, बस्ने र एक तफी सवारी भाडा समेत आयोजकले ब्यहोर्ने छ ।