आशिष र भगवती च्याम्पियन

Manoj Shiama
11 April, 2018 10:41 am


आशिष बोहरा र भगवती विक एनके खुला सफ्ट टेनिस प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । आशिष पुरुष र भगवती महिला सिंगल्समा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आशिषले वृजेश पाण्डेलाई ४–१ ले पराजित गरे । युकेश योञ्जन तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा भगवतीले जर्जिया चौधरीलाई ४–१ ले हराइन् । श्रिया राईले तेश्रो स्थानमा चित्त बुझाइन् ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघको सहकार्यमा सन् १९९० देखि २००८ का दौरान सफ्ट टेनिसकी राष्ट्रिय च्याम्पियन निरा कायश्थले आयोजना गरेको प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्स फाइनलमा सुरज चौधरीले प्रितम परियारलाई ४–१ ले हराउदै स्वर्ण जिते । आयुश जोशी तेश्रो बने । उक्त स्पर्धाको गल्र्समा आइशा डोल्कर गुरुङ पहिलो भइन् ।
यु–१० गल्र्स सिंगल्समा सुनिरा थापा पहिलो भइन् । सुनिराले फाइनलमा रितिका चौधरीको चुनौती ४–० ले सहजै समाप्त पारिन् । प्रतिष्ठा लामा तेश्रो भइन् । सो स्पर्धाको ब्वाइजमा आयुशमान हजुर घले पहिलो भएका थिए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल सफ्टटेनिस संघका अध्यक्ष विनयविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छ स्पर्धा समावेश दुईदिने प्रतियोगितामा ५६ खेलाडी सहभागी थिए ।