पिताम्बर तिम्सिना उपाध्यक्षमा नियुक्त

Manoj Shiama
14 November, 2018 10:05 pm

राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन् । बुधबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनारले) तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए ।

तिम्सिनालाई खेलकुद विकास ऐन २०४८को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७५।०७।२८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बि.क. द्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।

उपाध्यक्ष तिम्सिनाले बुधबारनै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यस अघि पनि तिम्सिनाले २०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चार बर्षिय कार्यकाल पुरा गरेका थिए ।

उपाध्यक्षमा नियुक्त हुनु अघि तिम्सिना लगायत राजेश गुरुङ्ग तथा ईन्दिरा निरौलालाई मन्त्री परिषद्को २०७५।०७।२५ गतेको निर्णय अनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुद मन्त्री बि.क.ले सदस्य पद तथा गोपनियताको सपथ गराएका थिए ।

नव नियुक्त सदस्य गुरुङ्गले पनि राखेपको सदस्यको अनुभव संगाली सकेका छन् । उनले राखेपको सदस्यका साथै सुटिङ्ग र बक्सिङ्ग संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्यको पदमा रहेर अनुभव संगाली सकेका छन् । यस्तै मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रिय सदस्य समेत रहेकी निरौलाको राखेप सदस्यमा पहिलो अनुभव हो ।

सदस्यहरुलाई बधाई दिंदै मन्त्री बि.क.ले सदस्यहरुलाई दिईएको जिम्मेवारी पुरा गर्ने बिश्वास ब्यक्त गर्दै मन्त्रालय तथा परिषदले लिएका नीति तथा कार्यमा दत्तचित्तभई कार्य गर्न शुभकामना प्रदान गरे ।

उपाध्यक्षमा नियुक्त भए पश्चात बोल्दै तिम्सिनाले आफुले पुर्व राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्री एवं अध्यक्षलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए ।